पोखरामा मंसिर १४ गते नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा हुने

पोखरा/ नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत  १७ वटा बाम घटकबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १४ गते  पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको छ । उक्त पार्टीले आज पोखरामा पत्रकार भेटघाटमार्फत सन्देश सभा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको जानकारी दिएको हो ।
जन परिचालन, स्वयंसेवक, प्रचार प्रसार, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक उपसमिति गठन गरि क्रियाशील रहेको र सन्देश सभाको तयारीको काम अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा बताईएको थियो  । आईतवार आयोजित सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक  माधवकुमार नेपाल, भिम रावल लगायत गण्डकी प्रदेशको विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले सम्बोधन गर्ने पत्रकार भेटघाटमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पत्रकार भेटघाटमा नेपाली कम्युनिष्ट पार्टीका इन्जार्जत्रय दिनानाथ शर्मा (साविक माओवादी केन्द्र), श्रीनाथ बराल (साविक नेकपा एस) र विश्वनाथ शर्मा (साविक नेसपा महेन्द्र राय यादव पक्ष) ले देशमा छरिएर रहेका कम्युनिष्टलाई एकीकृत गरी समाजवादको लक्ष्य हासिल गर्ने उद्देश्यले पार्टी एकीकरण भएको बताए । दिनानाथ शर्माले यो एकता नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धी रहेको दावी गरे ।  उनले आफुहरुले पार्टि एकीकरण गरेर जेन्जी पुस्ता लाई नेतृत्वमा ल्याउने स्पष्ट पारे । श्रीनाथ बरालले यो एकताले भ्रष्टाचारको अन्त्य, सुशासन र युवालाई देशमै बस्ने वातावरण बनाउने जिकिर गरे । कार्यक्रममा विश्वनाथ शर्माले कम्युनिष्ट आन्दोलनलाई संगठित गरी नेपाली विशेषताको समाजवादमा जान खोजिएको बताए ।
विभिन्न राजनीतिक दल एकीकरण भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भई कार्तिक १९ गते काठमाण्डौमा एकता घोषणा सभा एवं प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । नेपालको वामपन्थी राजनीतिमा लामो समय योगदान गरेका र हाल ने.क.पा. (एमाले) लगायत विभिन्न राजनीतिक दलसंग आवद्ध नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा समाहित भईरहेको विज्ञप्तिमा उल्लेख छ । साथै यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार र बामपन्थी केन्द्रको रुपमा रहेको दावी पनि गरिएको छ ।
माक्संवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्दै नेपाली विषेशताको वैज्ञानिक समाजवाद कायम गर्नका लागि स्वदेशी पूँजीको परिचालन गर्दै तिब्र गतिमा आर्थिक विकास गर्ने, ठूलो संख्यामा भइरहेको युवाहरुको विदेश पलायनलाई स्वेदशमै रोजगारी सिर्जना गरेर रोक्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई निःशुल्क गर्ने तथा हरेक क्षेत्रमा समाजवादी कार्यक्रम लागू गर्ने पार्टीको उद्देश्य रहेको विज्ञप्तिमा छ । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले महत्वपूर्ण सन्देश दिएको भन्दै विज्ञप्तिमा भ्रष्टाचार तथा अनियमितता निर्मूल पार्ने, सुशासन कायम गर्ने तथा विगतमा देसिएकस तमाम खालका अव्यवस्थाहरुलाई अन्त्य गर्ने लगायतका नीति पार्टीको राष्ट्रिय सम्मेलनले पारित गरेको जनाईएको छ । शासन सत्ता र राजनीतिक दलहरुमा पनि युवा समुहको प्रतिनिधित्व गराउने उदेश्यले पार्टीको विधानमै केन्द्रीय समितिमा २० प्रतिशत जेन जी उमेर समूहको प्रतिनिधित्व सुनिस्चित गरिएको छ र आसन्न प्रतिनिधि सभाको निर्वाचनमा समेत सोही आधारमा प्रतिनिधित्व सुनिश्चित गराइने दावी नेपाली कम्युनिष्ट पार्टीको छ । निर्वाचनको विकल्प नभएकाले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन समयमै हुनुपर्नेमा उक्त पार्टीले जोड दिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *