स्याङ्जा । स्याङ्गजा कोल्माको विकासका लागि यस बर्ष पनि क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । बसाइसराई र विदेश मोहका कारण रित्तिदै जान थालेको गाउँमा चहलपहल बनाउन यस बर्ष छैठौँ संस्करणको क्रसकन्ट्रि दौड प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चले कोल्मामा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । यस बर्ष ६ वटा विद्यामा दौड प्रतियोगिता आयोजना हुनेछ।

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष सुवेदार मेजर दुतप्रसाद गुरुङ्गले आगामी पुष ८ गते कोल्मा बराहचौरमा प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । उहाँले प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमस ५०, ४० र ३० हजार पुरस्कार सहितको २५ किलोमिटर दुरीमा दौड प्रतियोगिता हुने बताउनुभयो । यो विद्याको दौड प्रतियोगिता सहभागि भएका स्थानीय धावकहरु मध्ये उत्कृष्ट एक जनालाई नगद पाँच हजार प्रोत्साहन पुरस्कार समेत प्रदान गरिने गुरुङ्गले बताउनुभयो । अध्यक्ष गुरुङ्गले देशभरबाट सहभागि हुने धावकहरुलाई स्याङ्गजा र तनहुँका काउँले डाँडा स्वारा, नाम्चे, काल्खु, खल्लुबोट, विसौना, खुदी, मड्किना लगायतका गाउँहरु समेटीने गरि दौडाइने बताउनुभयो ।
यस्तै १० किलोमिटरको दुरीमा पुरुष महिलाको छुट्टाछुट्टै विधामा दौड प्रतियोगिता हुनेछ । १० किलोमिटर दुरीमा प्रथम, द्धितीय र तृतीय हुनेले २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विद्यार्थीहरुलाई लक्षित गरि मावि तहमा अध्ययन गर्ने छात्र र छात्रालाई छुट्टाछुट्टै समुहमा सहभागि गराई दौडाइने छ । यो दुरीमा प्रथम द्धितीय र तृतीय हुनेले क्रमस ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा यस बर्ष ३० वर्षमाथिका महिलालाई लुंगि ड्रेस सहित दौडमा सहभागि गराइने भएको छ । स्थानीय महिलाहरु सहभागि हुने गरि रन फर फन विधामा प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ । यो विधामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमस ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुवेदार मेजर जितबहादुर गुरुङ्गले क्रसकन्ट्रि दौडकै कारण कोल्मामा उल्लेख्य विकास हुन थालेको दावि गर्नुभयो । उहाँले गाँउ फर्कने र गाउँको विकासमा योगदान दिनेहरु थपिने क्रममा रहेको जानकारी दिदै यही प्रतियोगिताकै कारण सरकारी तहमा समेत कोल्माका योजनाहरु समावेश हुन थालेको जानकारी दिनुभयो । प्रतियोगितासँगै कोल्माबाट देखिने प्राकृतिक दृश्य र सांस्कृतिक प्रदर्शनले पछिल्लो समय पर्यटकहरुको आकर्षण बढ्न थालेको उहाँले बताउनुभयो । कोल्मा र आसपासको क्षेत्रमा पर्यटक जान थालेपछि स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरेर गाउँमै आम्दानी गर्न थालेको आयोजकको दावि छ ।
