लेखनाथ महोत्सव २०८२ आगामी पुस ३ देखि १४ गते सम्म

मंसिर ७/ पोखरा

लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो सातादेखि २१औँ संस्करणको लेखनाथ महोत्सव–२०८२ आयोजना गर्नेभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले पुस ३ देखि १४ गतेसम्म पोखरा–२७, तालचोकमा महोत्सव सञ्चालन हुने जानकारी दिएको हो।

संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीका अनुसार २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको यस महोत्सव २०६१ देखि वार्षिक महोत्सवका रूपमा सञ्चालन हुँदै आएको छ ।

विभिन्न भाषा–संस्कृति, परम्परा र उत्पादनलाई एउटै थलोमा जोडेर लेखनाथको पहिचान उजागर गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।

महोत्सवमा कृषि सामग्री, महिला उद्यमीका उत्पादक वस्तु, स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित सामग्री, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादन, खाद्य तथा उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, फर्निचर, खेलकुद सामग्री, सूचना–प्रविधि उपकरण लगायत विभिन्न क्षेत्रअन्तर्गतका करिब ३ सय ३५ स्टलहरू रहनेछन्।

यसका साथै लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफी, तरकारी, दुग्धजन्य उत्पादन लगायतको विशेष प्रदर्शनी र बिक्री पनि हुनेछ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रचार-प्रसार संयोजक ध्रुवबाबु भटृराईले अहिलेको कठिन आर्थिक अवस्थामा पनि महोत्सवले व्यवसायी र सर्वसाधारणको मनोबल उच्च बनाउने र बजार सक्रियता बढाउन सहयोग गर्ने बताए।

यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।

देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले बताए।

महोत्सवमा थप आकर्षणको रुपमा यस वर्ष पनि गतवर्ष जस्तै एशियाको ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् ।

महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश शुल्क रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र कन्सर्टको लागि रु २ सय कायम गरिएको छ ।

आयोजकका अनुसार महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शक आउन अनुमान गरिएको र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने बताइएको छ।

महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र सम्पन्न गर्न करिब ८५ लाख खर्च लाग्ने र रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

बचत रकमलाई नवउद्यमी उत्पादन, उद्यमशिलता विकास, औद्योगिक क्षेत्र निर्माण र पर्यटन प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममा लगानी गरिने समेत बताएको छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *