मंसिर ८ / प्रकाश पौडेल
आहा रारा पोखरा गोल्डकपको २५ औँ संस्करणको मिति तय भएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक साहारा क्लब पोखराले २५ औँ आहा रारा पोखरा गोल्डकप आगामी माघ २७ गते देखी फागुन ९ गते सम्म हुन लागेको जानकारी गराएको हो ।
साहारा क्लब पोखराले रजत जयन्ती फुटबल प्रतियोगिताको रुपमा सञ्चालन गर्न लागेको आहा रारा गोल्डकपको मुख्य प्रायोजकको रुपमा आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रा. लि, संरक्षकमा पोखरा महानगरपालिका, बिशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद बिकास समिति, एन्फा कास्की र कास्की जिल्ला फुटबल संघ रहने क्लबका अध्यक्ष केशब बहादुर थापाले जानकारी गराउनुभयो । प्रतियोगिताको सह उप–प्रायोजकको रुपमा भने पोखरा महानगरपालिका वडा नं. ९ रहने छ । प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा साहारा क्लब पोखराले साहारा आवासिय फुटबल एकेडेमीको सहयोगार्थ पहिलो पटक गत कात्तिक १४ गते सञ्चालन गरेको गरेको साहारा डिनर नाइटको आय ब्याय पनि प्रस्तुत गरेको थियो ।
डिनर नाइट बाट क्लबले २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी गरेकोमा खर्च कटाएर १७ लाख ४१ हजार ६ सय २६ रुपैयाँ (उठ्न बाँकी सहित) मुनाफा गरेको छ ।

