सोमबार बिहान देशभरका जेन जी युवाहरू भ्रष्टाचारविरुद्धको नारा बोकेर काठमाडौँस्थित माइतीघरमा जम्मा हुँदै थिए। यही भीडमा थपिँदै थिए, देशको हालतदेखि निराश एउटा युवा, २२ वर्षीय विमलबाबु भट्ट। कोटेश्वरस्थित मामाको घरमा बस्दै आएका उनले बिहान घरबाट निस्किनुअघि खुलेरै भनेका थिए– ‘म जेनजी आन्दोलन जान लागेको।’
तर, मामा हरिराम भट्टले बिर्सिएका थिएनन्, गत चैतमा भएको राजावादीको त्यो हिंसात्मक आन्दोलन। भान्जा विमललाई उनले पटकपटक सम्झाए– ‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न।’
तर दृढ स्वभावका विमलले सुनेनन्। एउटै कुरा दोर्याइरहे– ‘हामी नगए, को जान्छ? हामीले देश नबनाए अब कसले बनाउँछ ?’
दिउँसो आन्दोलनमा गोली चलेको खबर सामाजिक सञ्जालमा फैलिन थाल्यो। प्रहरीको गोली लागेर जेन जी युवाहरूको हत्या भएको खबर सुनेपछि मामा हरिरामले भान्जालाई फोन लगाए। फोन अरु कसैले उठायो र भन्यो– ‘तपाईंको भान्जा सिभिल हस्पिटलमा छन्। यो फोन आशिका तामाङ दिदीलाई छोडिदिन्छु, उहाँसँगै लिनुस् ल।’
थप केही भनिएन। मामा अत्तालिए। तर बानेश्वर क्षेत्रमा कर्फ्यु लागिसकेको थियो। हरिराम जब राति ८ बजे अस्पताल पुगे, थाहा भयो– संसद् भवनको गेट अगाडि प्रहरीको गोली लागेर ढल्ने पहिलो जेन जी युवा त आफ्नै भान्जा पो रहेछन्।
नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि जेन जी आन्दोलनले उग्र रूप लिँदै गर्दा सदाका लागि निभेको एउटा सपना, गोरखा बारपाक सुलिकोट–५ का आफ्नै भान्जाको रहेछ।
भट्टसँगै प्रहरीको गोली लागेर १९ युवाले त्यस दिन काठमाडौँमा ज्यान गुमाए। यो घटनाले नेपालको युवा पुस्ताको निराशा, आक्रोश र विद्रोहको कथालाई फेरि एकपटक उजागर त गर्यो नै, सँगसँगै भान्जाको मृत्युले मामा हरिरामको मुटु पनि छियाछिया भयो।
भान्जाको शवको व्यवस्थापन गरिरहेका उनले अहिलेसम्म गाउँमा मानसिक रोगले ग्रसित आफ्नी बहिनी सीता अर्थात् विमलकी आमालाई यो खबर सुनाउन सकेका छैनन्।
‘यो खबर सुनायो भने फेरि बहिनीको हालत के हुन्छ, थाहा छैन,’ मलिन स्वरमा हरिरामले भने, ‘उसको बुबा (रामकृष्ण)लाई भनिसक्यौँ। सायद एक्लै कतै कुनामा गएर रोइरहेका होलान् तर बिरामी श्रीमतीलाई सुनाउन सकेका छैनन्।’
एसएलसी सकेपछि प्लस टु पढ््न भनेर मामाको घरमा आइपुगेका विमल खासमा काठमाडौँमै केही गर्न चाहन्थे। जागिर नभएर यतै केही उद्यम गरौँ भन्ने उनको हुटहुटी थियो। विदेशमा रहेका दाइ सुदीपलाई उनी भनिरहन्थे– अब लगानी जुटाएर असनतिरै कपडा पसल खोल्नुपर्ला। तर, देशको स्थिति र बिग्रँदो राजनीतिले उनलाई नमिठोसँग पिरोलेको थियो। देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र अवसरको अभावले उनलाई निराश बनाएको थियो।
बेलाबेला उनी मामालाई भन्ने गर्थे– ‘भ्रष्ट नेताहरूले देश बिगारे। यहाँ पढाइ गरेर केही हुँदै भएन। पढेकाकाको पनि हालत देखियो। अब विदेश नै जानुपर्ने भयो।’
हरिरामका अनुसार पशुपति क्याम्पसमा प्लस टु पढ्दै गरेका उनले त्यही कारण केही महिनाअघि मात्रै विदेश जाने सोच बनाएका थिए। एजेन्टको सल्लाहअनुसार थाइल्यान्डमा केही समय काम गरेर पोर्चुगल जाने सहमति भएको थियो। जसका लागि एजेन्टलाइ तीन लाख रुपैयाँ रकम समेत बुझाइसकेका थिए।
‘अब एक महिनामा भिसा आउँछ, अनि उड्ने हो भन्थे, खोइ भान्जा त कता उडे उडे,’ मामा हरिराम भावुक सुनिए।
विमलले पढाइ सामान्य भए पनि जीवनमा केही गर्ने आकांक्षा राखेका थिए। उनी मामाको वासिङ फ्याक्ट्रीमा काम गरिरहेका थिए।
विमलसामु गाउँको सानो घरमा बिरामी आमा, थकित बुबा र दुई भाइको भार थियो। उसको मनमा सपना थियो— विदेशको आकाश चिरेर कमाइको उज्यालो ल्याउने, आमाको रोग हराउने, घरको गरिबी मेट्ने। तर, संसद् भवनअगाडि प्रहरीको गोलीसँगै ती सबै सपना चकनाचुर भए। मामा हरिरामले यो कथा सुनाउँदै गर्दा धेरैपटक उनका शब्दहरू रोकिए, गला अवरुद्ध भयो, आँखा रसाए।
तर, जेन–जी आन्दोलनमा विमलबिना कुनै डर अग्रपंक्तिमा रहेर होमिएको दृश्यले उनी चित्त बुझाउँछन्।
‘उनी सानैदेखि अलि साहसी थिए, लिडरसिप गरौँ भन्ने खालको भावना थियो,’ मामा हरिरामले भने, त्यही भएर संसद् भवनको गेट खुलाउन जाँदा पनि उनी अगाडिअगाडि गएछन्। आन्दोलनको फ्रन्टलाइनमा रहेको टिकटक भिडिओहरूमा देखेँ। त्यही भएर प्रहरीले उसलाई सिधै छातीमै गोली हानेछ। अरुले रबरको भन्छन्, हामीले हेर्दा त मेटलकै जस्तो लागेको छ, त्यही भएर अन द स्पट ढलेछन्,’ उनले भने।
विमलको शव हाल महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा भएपछि मात्र उनको शव परिवारलाई बुझाइनेछ। विमलको परिवारलाई अब कुनै ठूलो आशा छैन। यति छ– जेनजी आन्दोलनले देशमा जुन खालको परिवर्तन ल्याएको छ, त्यो योगदानको हिस्सा विमल पनि बन्नुपर्छ।
विमलसहितका युवाहरूको मृत्युले सायद सत्ताका लागि लड्ने पुराना नेताहरूलाई प्रश्न गरेको छ, जसले युवाहरूलाई अवसर दिन सकेनन् र उनीहरूको आवाज दबाउन गोली चलाए।
नेपालको जेन जी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथल र जनआक्रोशले अब कुन मोड लिन्छ, त्यो भविष्यले बताउला। तर विमलको परिवारलाई विश्वास छ– उसको बलिदानले इतिहासमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, जहाँ उनी नेपालको उज्ज्वल भविष्यको लागि लड्ने एक साहसी युवाको रूपमा सधैँ स्मरणीय रहनेछन्।
‘यो आन्दोलनले ठूलो रेभोलुसन ल्याएकै हो,’ मामा हरिराम गर्व गर्दै भन्छन्, ‘देशमा परिवर्तनको आशामा विमलले ज्यानको आहुति दिए। पक्कै पनि उनी सहिद भनेर चिनिनेछन्। यसमा राज्यले कुनै कन्जुस्याइँ नगर्ला।’
