रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलास राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा लामिछाने र जोशी पुर्पक्षको लागि थुनामा छन् । लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन् ।

लामिछाने र जोशीको मुद्दामा बिहीबार भएको बहसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले यसअघि सर्वोच्च अदालतमा रहेका मिसिल झिकाउने आदेश गरेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बिहीबारको बहसपछि लामिछाने र जोशीको मुद्दाका मिसिल झिकाउने आदेश भएको जानकारी दिए।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका चार जना प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अदालतमा अभियोग पत्र दायर गरिएको छ ।

सोही अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएपछि लामिछाने र जोशीले आफ्नो भागमा पर्ने रकम बराबरको बिगो बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । 

लामिछानेले जिल्ला अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत साथ पेस गरेको  निवेदनमा जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गएका थिए।

सोही मुद्दा माथि बिहीबार बहस भएको हो। बिहीबारको बहसमा लामिछानेको तर्फबाट कानुन व्यवसायीहरू नारायण कँडेल, दीपेन्द्र झा र महेन्द्र पाण्डे तथा जोशीको तर्फबाट रोचक जोशीले बहस गरेका थिए।

सहकारीका बचतकर्ताहरूको तर्फबाट महान्यायाधीवक्ता प्रकाश मरासिनी र सहन्यायाधीवक्ता सन्देश श्रेष्ठले बहस गरेका थिए।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *