नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक सुरु

पोखरामा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु भएको मेलालाई उद्घाटन गर्दै उद्योग वाणिज्य सघंका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरूरी रहेको बताए । नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिनेमा जोड दिए । उनले नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको र त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरेर करिब ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको सुनाए । स्थानिय उत्पादनलाई प्रोत्साहनसँगै प्रवद्धन गर्न सके अर्थतन्त्र बलियो हुने उनको भनाई थियो ।

आयोजक सघंका अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्ने बताउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष कार्कीका अनुसार ५ दिनसम्म चल्ने मोलामा उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्न मेलास्थलमै कृषि, पर्यटन र सरकारका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ ।

मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरू रहेका छन् ।

संघकी महासचिव शोभा गौतमले मेलालाई उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा लिँदै यस क्षेत्रको मौलिक संस्कृति प्रदर्शन गरिने जानकारी दिइन् । मेला मंसिर २१ गतेसम्म चल्नेछ । २०४२ सालदेखिको मेला आयोजनाको परम्परालाई निरन्तरता दिँदै यसपटक नेपाल मणिपाल अस्पताल मुख्य सहयोगीको रूपमा जोडिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश संरक्षक रहेको मेलाको मुख्य प्रवर्द्धक पोखरा महानगरपालिका हो भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकका रूपमा छन् । ग्लोबल आइएमई बैंक सह–प्रायोजक रहेको मेलालाई टुबोर्ग बियर, सोल्टी पानी, पोखरा इन्टरनेट, कुमारी गोल्ड, युनाइटेड अजोड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक लगायत दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरूले सघाएका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *