पर्वत– कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिए । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको अभावमा खालि हुँदै गएको बताउँदै उनले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट मात्रै सुधार गर्न सकिने बताए । साथै सामुदायिक विद्यालयलाई सरकारले आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको पनि उनले औलाएका छन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका वडा नं. ९ का अध्यक्ष ईश्वर गिरी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाई, नगर शिक्षा अधिकृत दीपक सुबेदी, कुश्मा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडी लगायका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले प्रगति प्रतिवेदन र लेखा कर्माचारी पूर्णबहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानु गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
सोही अवसरमा विभिन्न अक्षयकोषबाट प्राप्त ब्याजबाट १६९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो । जस मध्ये नागासाकी भद्र सरस्वतीे अक्षयकोषबाट २९ जना विद्यार्थी र भूकम्प पिडित बालबालिकालाई आर्थिक सहयोग गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी जानकी भण्डारी र उनका माता पिताले स्थापित एक लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याज रकम ४८ हजारबाट २२ जनालाई छात्रबृति वितरण गरिएको थियो । ६ जना भूकम्प पिडित बालबालिकालाई रु. ४ हजार र अन्यलाई दुई/दुई हजार रुपैयाँ प्रदान गरिएको थियो । यो छात्रवृत्ति रकम वार्षिक रुपमा बितरण गर्ने अक्षयकोषबाट स्थापित भण्डारीले जानकारी दिएका थिए ।
