ठुलीपोखरीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कुश्मा नगरपालिका वडा नं. १२ को कार्यालयले उपभोक्ता समिति लाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कुश्मा नगरपालिका बाट विनियोजित बजेटले वडामा सञ्चालनमा रहेका ४० वटा योजनाका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष झलक प्रसाद रिमालले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका प्रशासनिक प्रमुख किरण पौडेलले प्रमुख अतिथिको रुपमा आफ्नो भनाइ राख्दै उपभोक्ता समितिका पदाधिकारीलाई लाई योजना सम्झौता, बिलिङ, भुक्तानी, म्याद थप लगायत योजना सम्बन्धी सम्पूर्ण विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित उपभोक्ता समितिका पदाधिकारीले समितिले पेस्कि रकम पाएमा काम गर्न सहज हुने र प्राविधिकले पनि समयमा नै योजनाको नापजाँच गरेमा विकास निर्माण कार्यमा गुणस्तरियता कायम हुने राय राखेका थिए । निर्माण सामग्रीको जिल्ला दर रेट साउन महिनामा सार्वजनिक हुने तर पछि गएर सामानको मुल्य वृद्धि हुँदा समितिले योजना सम्पन्न गर्न सकस परेको गुनासो गरेका थिए । कार्यक्रमका अध्यक्ष कुश्मा नगरपालिका १२ नं. वडाका अध्यक्ष झलक प्रसाद रिमालले वडामा रहेका सम्पूर्ण योजना सम्पन्न गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्थानियबासी लगायतको उपस्थिति रहेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *