पर्वतमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गयो

तस्बिर Ai निर्मित हो ।

२० जेठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ स्थित अर्मादी घुम्तीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

आज अपराह्न करिब ३:५५ बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।


दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा–१ का करिब ३२ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल पर्वत लगिएको थियो।
प्रादेशिक अस्पताल पर्वतले उपचारका क्रममा दुवै जनाको मृत्यु भएको पुष्टि गरेको छ।


दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट मालढुङ्गाबाट प्रहरी सहायक निरीक्षक रेशम सुनारको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ।


दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *