चितवन । तुइनखोला पहिरोको रिपोर्टिङ गर्न गएका चितवनका दुई जना पत्रकार दुर्घटनामा परेका छन् । नेपाल टेलिभिजनका संवाददाता अनिल ढकाल र नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य जी न्युजका पत्रकार ससदन पौडेल दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा पत्रकार ढकालको अवस्था गम्भीर रहेको छ भने पौडेल सामान्य अवस्थामा उपचाररत छन् । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ढकाल बेलुका ८ बजेको समाचारमा तुइनखोलाको पहिरोको अवस्था लाइभ रिपोर्टिङ गर्न जाँदै थिए । चितवन प्रहरीका अनुसार पत्रकार ढकाल र अर्का पत्रकार सुदन पौडेल रिपोर्टिङको लागि जाँदै गर्दा साँझ साढे ६ बजेतिर मोटरसाइकल र ट्रक ठोक्किएको थियो ।
नारायणगढ मुग्लिन सडक खण्डको भतेरीमा भएको दुर्घटनामा पत्रकार ढकाल गम्भीर घाइते भएका हुन् । उनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । भने अर्का पत्रकार सुदन पौडेलको पनि सामान्य अवस्थामा चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
